चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्तिका लागि बिहीबार सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको हो।

मन्त्रालयका अनुसार इच्छुक तथा योग्य व्यक्तिले असोज ७ गतेसम्म कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन्। बोर्डका तत्कालीन अध्यक्ष दिनेश डिसीको दुईवर्षे कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ। हाल मन्त्रालयले सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

नयाँ अध्यक्ष नियुक्त भएपछि शर्मा पुनः मन्त्रालयमै फर्किनेछन्। मन्त्रालयले प्राप्त आवेदनबाट सात दिनभित्र योग्य उम्मेदवारको ‘सर्टलिस्ट’ तयार गर्नेछ। त्यसका लागि मन्त्रालयले समिति गठन गर्नेछ। उक्त समितिले सिफारिस गरेका तीन जनाको नाम मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउनेछ।

त्यसपछि मन्त्रिपरिषद्ले सिफारिस भएका तीन जनामध्ये एक जनालाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने कानुनी व्यवस्था छ। अध्यक्ष पदका लागि दरखास्त दिने व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ । त्यस्तै, उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। यसका साथै नेपाली चलचित्र उद्योगमा निरन्तर कम्तीमा १० वर्ष काम गरेकोलगायतका अनुभव पनि हुनुपर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर