सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका करिब २७ हजार बालबालिका अझै विद्यालय बाहिर छन् । यस्तै, विद्यालयमा रहेका विद्यार्थीको तहगत सङ्ख्या, विद्यालय छाड्ने, कक्षा दोहोर्याउने र माथिल्लो कक्षामा उक्लिने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा निर्देशनालयको तथ्याङ्कले कक्षा १–१२ मा अध्ययनरत विद्यार्थीको सङ्ख्या २०८० सालमा सात लाख ४४ हजार ६५१ रहेकामा २०८१ सालमा सात लाख २५ हजार ६२७ र २०८२ सालमा सात लाख चार हजार ६९२ मा झरेको देखाउँछन् । यसले दुई वर्षमा विद्यार्थी सङ्ख्या ३९ हजार ९५९ ले घटेको र माथिल्लो कक्षामा विद्यार्थीको निरन्तरताको चुनौती रहेको प्रष्ट पारेको छ । विसं २०८२ मा कक्षा १–५ मा तीन लाख ३४ हजार ९७७ विद्यार्थी रहेकामा कक्षा ६–८ मा एक लाख ९५ हजार ७५२, कक्षा ९–१० मा एक लाख ९९२ र कक्षा ११–१२ मा ६४ हजार ७०० विद्यार्थी छन् । यसरी आधारभूत तहबाट माध्यमिक तहको माथिल्लो कक्षामा पुग्दा विद्यार्थीको सङ्ख्या उल्लेख्य रूपमा घट्दै गएको विवरणमा उल्लेख छ ।

कक्षा ९–१० मा पनि २०८० सालको एक लाख १४ हजार २७७ विद्यार्थीबाट २०८२ सालमा एक लाख ९९२ मा झरेको छ । कक्षा ११–१२ को विद्यार्थी सङ्ख्या भने सोही अवधिमा ७७ हजार ७७१ बाट घटेर ६४ हजार ७०० पुगेको छ । दुई वर्षमा कक्षा ११–१२ को विद्यार्थी सङ्ख्या १३ हजार ७१ अर्थात् करिब १७ प्रतिशतले घटेको हो । सामाजिक विकास मन्त्रालयका शिक्षा निर्देशक उपसचिव जयदेव महरा यी तथ्याङ्कले बालबालिकालाई विद्यालय भित्र्याउनेसँगै भर्ना भएका विद्यार्थीलाई टिकाउने, सिकाउने र माथिल्लो तहसम्म पुर्‍याउने चुनौती देखाएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर