हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान कोशी प्रदेशका एक दुई स्थानमा पानी परिरहेको छ। संखुवासभाको टासी गाउँमा पछिल्लो तीन घन्टामा २७.९ मिलिमिटर वर्षा भएको छ। ताप्लेजुङको तापेथोकमा १०.४ मिलिमिटर, लुङथुङमा ७.६ मिलिमिटर वर्षा मापन भएको छ।

गएको चौबीस घन्टामा झापाको चन्द्रागिरि एयरपोर्टमा ११२.२ मिलिमिटर, अनारमनी बिर्तामा ८९.६ मिलिमिटर, उदयपुरको गाइघाटमा ८६.८ मिलिमिटर, संखुवासभाको टासीगाउँमा ८२.८ मिलिमिटर वर्षा मापन भएको छ। अरू विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली हुने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी  भू-भागका एक-दुई स्थानमा भने दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ| शुक्रबार राति कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी  प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा, बागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशको तराई भू-भागका केही,  मधेश प्रदेश  तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर