रसुवा बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा झाडापखाला देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भिडका कारण संक्रमणको जोखिम बढेको हो ।
‘होल्डिङ सेन्टरहरूमा बसिरहेका व्यक्तिहरूमा झाडापखाला देखिएको छ । ठूलो आउटब्रेक वा महामारीकै रूप लिने गरी भने फैलिएको छैन,’ अधिकारीले भने, ‘अस्थायी बसोबासका कारण संक्रमणको जोखिम बढी हुने भएकाले सतर्कता अपनाएका छौँ ।’
बाढी-पहिरोपछि प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिने जोखिम बढ्छ । बाढीका कारण खानेपानीका मुहान तथा खाद्य पदार्थ दूषित हुने भएकाले पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । विशेषगरी झाडापखाला, हैजा, रुघाखोकी, टाइफाइड, डेंगु, लेप्टोस्पाइरोसिस, भाइरल हेपाटाइटिस तथा विभिन्न छालासम्बन्धी संक्रमणको जोखिम बढ्छ ।










