प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोच र व्यावहारिक पहलमार्फत आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न जेन जेड उमेर समूहका सांसदहरूलाई आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन जेड सांसदहरूसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै युवा पुस्तालाई आत्मनिर्भर बनाउने अभियानको नेतृत्व लिन आग्रह गरेका हुन्।

अध्ययन र प्रविधिमा जोड
प्रधानमन्त्री शाहले समस्या पहिचानका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना प्रविधिको अधिकतम उपयोग गर्न र समाधानमुखी कार्यशैली अपनाउन सांसदहरूलाई सुझाव दिएका छन्।

परिवर्तित समयअनुकूल परिणाम दिन नसक्ने पुराना तथा अव्यवहारिक सोच त्याग्दै नयाँ पुस्ताको आवश्यकता र सम्भावनाका आधारमा काम गर्नुपर्नेमा उनले जोड दिए।

आफ्नै पुस्ताको प्रतिनिधित्व गरेर संसद्मा पुगेका सांसदहरूले नीति निर्माणसँगै रोजगारी, उद्यमशीलता र आत्मनिर्भरताका क्षेत्रमा उदाहरणीय भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो।

राजनीतिलाई पेसा नबनाउन सुझाव
प्रधानमन्त्री शाहले राजनीतिलाई आम्दानीको पेसा नबनाउन पनि सांसदहरूलाई आग्रह गरेका छन्। राजनीतिबाहेक आयआर्जनको छुट्टै व्यावसायिक आधार निर्माण गरी दीर्घकालीन रूपमा आत्मनिर्भर बन्नुपर्ने उनको सुझाव छ।

आर्थिक रूपमा आत्मनिर्भर राजनीतिक नेतृत्वले समाजमा सकारात्मक सन्देश दिनुका साथै नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने उनले बताएका छन्।

अवसर सिर्जनामा जुट्ने प्रतिबद्धता
अन्तरक्रियामा सहभागी जेन जेड उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएको बताएका छन्।

उनीहरूले युवा पुस्तालाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न तथा नवीन सोचसहित परिणाममुखी काममा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर