भोटेकोशी बाढीले छायांकन योजना प्रभावित बनेको फिल्म ‘ए मेरो हजुर ५’को छायांकन पशुपतिनाथ परिसरबाट सुरु भएको छ । २५ दिनको तालिकासहित छायांकन सुरु भएको निर्देशक झरना थापाले जनाइन् ।

यसअघि सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय थलो बडीमालिका र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रबाट छायांकन गर्ने तयारी थियो । अचानक रसुवाको भोटेकाशीमा बाढी आएपछि तालिका प्रभावित बन्यो ।

यो फिल्मको छायांकन बाजुरामा पनि हुने भएको छ । झरनाकै निर्देशनमा बन्ने फिल्ममा अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका हुनेछ ।

अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले यो फिल्मका दुई श्रृंखलामा सहकार्य गरिसकेका छन् । फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, नीरज पन्थी, आशा भुसालको पनि अभिनय हुनेछ ।

‘ए मेरो हजुर’को पहिलो श्रृंखलामा देखिएकी झरनाले यसमा भने निर्देशनसँगै अभिनय गर्नेछिन् । पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् । रामजी लामिछानेको नृत्य निर्देशन रहने फिल्मको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बुको पनि संगीत हुनेछ ।

यो फिल्म नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर