प्रधानमन्त्री बालेन शाह आज साँझ अमेरिका प्रस्थान गर्दैछन्। उनी संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्।
प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जहाजमा अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीको बिदाइका लागि परम्परागत कार्यक्रम भने नहुने भएको छ। प्रधानमन्त्री विदेश जाँदा नेपाली सेनाको एक टुकडीले विमानस्थलमै सलामी दिने चलन थियो। प्रधानमन्त्री जानु र फर्किनुपूर्व यसरी सलामी दिइन्थ्यो। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार यसपालि यो परम्परा रोकिनेछ।
बालेन शाह प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हो। विदेश जान लागेका प्रधानमन्त्रीको बिदाइमा विगतमा सभामुख, उपसभामुख, मन्त्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने गर्थे। भिआइजी लाउन्जमा औपचारिक बिदाइ कार्यक्रम गर्ने प्रचलन थियो। त्यो कार्यक्रम पनि यसपालि नहुने बताइएको छ।
‘सलामी र बिदाइको कुनै पनि तालिका छैन। पहिले पहिले परम्परागत बिदाइ कार्यक्रम हुन्थ्यो। यसपालि त्यस्तो हुँदैन। यसपालि प्रधानमन्त्री शाह अरू नागरिक प्रवेश गर्ने तर्फबाटै जाने कि भन्ने थियो, समय अभाव हुने भएकाले भीभीआइपी लाउन्जतर्फबाट जहाज चढ्नुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। प्रधानमन्त्री शाह आज साँझ ६:२० मा बालुवाटारस्थित निवासबाट निस्किनेछन्।
विमानस्थल पुगेर साँझ ७ बजे उडानको कार्यक्रम छ। यस विषयमा सुरक्षा निकायलाई पनि जानकारी गराइसकिएको छ। प्रधानमन्त्री शाहको भ्रमण दलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन्।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल सहितको सहभागिता रहनेछ। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ।










