नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयको शैक्षिक विकासका लागि पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन् ।
विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि उक्त सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतासँगै विद्यालयको नाम परिवर्तन गरी ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
शर्माले आफ्ना जिजुबुबा गणपति न्यौपाने र हजुरबुबा गुनलाल न्यौपानेको नाम विद्यालयसँग जोड्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार पाख्रीबास नगरपालिका, विद्यालय व्यवस्थापन समिति र शर्माबीच नाम परिवर्तन तथा सहयोगसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार विद्यालयको पूर्वाधार विकासका लागि तीन करोड रुपैयाँ उपलब्ध गराइनेछ । उक्त रकममध्ये तीन करोड रुपैयाँ शर्माले सम्झौता भएको समयमा हस्तान्तरणसमेत गरिसकेका छन् । बाँकी दुई करोड रुपैयाँ आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि छात्रवृत्तिमा खर्च गरिनेछ ।
छात्रवृत्तिअन्तर्गत काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सञ्चालन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस र बीपीटीलगायत कार्यक्रमको अध्ययन शुल्क समेटिने बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम तिम्सिना, डा. शर्मा र पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
शर्माले विद्यालयमा गरेको सहयोगलाई आर्थिक योगदानभन्दा पनि आफ्नो पुर्खा र जन्मभूमिसँग जोडिएको भावनासँग सम्बन्धित रहेको बताएका छन् । उनले चुङमाङको विद्यालय आफ्नो सामाजिक योगदानको दोस्रो ठूलो प्रयास भएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने बताए ।
यसअघि शर्माले आफूले प्राथमिक तहमा अध्ययन गरेको मोरङको क्षेत्र नम्बर २ स्थित विद्यालयमा समेत भवन निर्माणमा सहयोग गरेका थिए । उक्त विद्यालयमा उनका बुबाआमाको नाम जोडिएको छ ।
शर्माले हुम्लाको चङ्खेलीमा रहेको विद्यालयमा पनि सहयोग गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । त्यसका लागि विद्यालयको नामसँग आफ्नो र श्रीमतीको नाम जोड्ने प्रस्ताव अघि बढाइएको उनको भनाइ छ ।










