मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
महाशाखाले आज बिहीबार बिहान सवा ६ बजे जारी गरेको विवरणअनुसार कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको छ।
यतिबेला कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने पश्चिमी वायुको पनि आंशिक प्रभाव छ।
साथै बंगालको खाडीको न्यूनचापीय क्षेत्र (डिप्रेसन) हाल पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा छ।
आगामी दिनमा यो थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।
जसको प्रभाव नेपालमा पर्ने र आगामी शुक्रबारदेखि आइतबारसम्म भारी, धेरै भारी र अति भारीसम्म वर्षा हुने सम्भावना छ। नेपालमा यसको आंशिक प्रभाव बुधबारदेखि नै परिसकेको मौसमविद्ले बताएका छन्।










