प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र समिति सदस्य माननीय धनेन्द्र कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्लेबीच भेट भएको छ ।

असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनालाई लिएर उनीहरूबीच भेट र छलफल भएको हो ।

छलफलका क्रममा सभापति गजुरेलले घटनाको वास्तविक कारण र परिस्थितिबारे यथाशीघ्र छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देश गरे । घटनाको निष्पक्ष अनुसन्धानमार्फत वास्तविक अवस्था सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

गजुरेलका अनुसार सरकारले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा उपत्यकाको सडक यातायातलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन ‘जिरो ट्राफिक’ व्यवस्थापनको अवधारणालाई कार्यान्वयनतर्फ अगाडि बढाउँदै छ ।

साथै छलफलमा सभापति गजुरेलले ट्राफिक प्रहरीलाई सार्वजनिक सेवा प्रवाहमा व्यवहारमा नम्रता, बोलीमा शुद्धता र आर्थिक कारोबारमा पारदर्शिता हुन आग्रह गरे ।

सडकमा खटिने प्रहरीको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक तयारीलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।

सभापति गजुरेलले ट्राफिक प्रहरीका लागि चाँडै मनोवैज्ञानिक कक्षा तथा आवश्यक परामर्श कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेका अनुसार उपत्यकाका सडकमा दैनिक १५ लाखभन्दा बढी सवारीसाधन आवतजावत गर्छन । यसको व्यवस्थापनका लागि हाल करिब एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन भइरहेका छन् ।

उपत्यकाको बढ्दो सवारी चाप, सीमित जनशक्ति तथा सडक सुरक्षासँग जोडिएका चुनौतीलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री, व्यवस्थित र नागरिकमैत्री बनाउँदै लैजानुपर्नेमा विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर