अविरल वर्षाका कारण धादिङ जिल्लाको विभिन्न स्थानमा पहिरो जाँदा सडक यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ। आज बिहान ९ बजेसम्म राजमार्गका विभिन्न आठ प्रमुख स्थानमा पहिरो र लेदो खसेर सवारी साधन आवत–जावतमा बाधा पुगेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताए ।
बेनिघाट रोराङ र गजुरी गाउँपालिका अन्तर्गतका मुख्य सडकखण्ड बढी प्रभावित भएका छन् । बेनिघाट रोराङ गाउँपालिका –७ स्थित कृष्णभिरमा बिहान ७ः३० बजे माथिबाट ढुङ्गा र लेदो खस्नुका साथै सडक किनाराको ग्याबिन वाल नदीमा खसेपछि दुवैतर्फको बाटो पूर्ण रूपमा ठप्प भएको छ। कृष्ण्भिरमा हाललाई आवागमन रोकी दुबैतर्फको बाटो एकै पटक खुलाउने प्रयास भइरहेको इञ्जिनियर सजना अधिकारीले बताए ।
सोही गाउँपालिकाको वडा नं १० स्थित तिडराङखानीमा बिहान ५:५० बजे पहिरो जाँदा दुवैतर्फको यातायात अवरुद्ध भएको छ। यस्तै, गजुरी गाउँपालिका –२ को चालिसेमा बिहान ६ बजे र परेवाभिरमा बिहान ८ बजे लेदोसहितको ठूलो पहिरो खसेका कारण दुवैतर्फको सडक अवरुद्ध बनेको छ । गजुरी–६ को जहरेखेतमा बिहान लेदोसहितको पहिरो खस्दा बिजुलीको पोलसमेत ढलेर एकतर्फी मात्र सडक सञ्चालनमा रहेको छ।
अन्य स्थानमा पनि अवस्था सहज छैन । असोज ९ गतेदेखि नै बेनिघाट रोराङ–१० को जवाङखोलामा सडकमा ठुला चिरा परेका कारण र वडा नं ३ को शितलबजारमा पहिरो जाँदा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेको छ । गजुरी–५ को बाङ्गेमोडमा पनि असोज १० गते साँझदेखि खसेको पहिरो कायमै रहेकाले बाटो एकतर्फी मात्र खुलेको छ ।
सडकमा थुप्रिएको पहिरो र लेदो हटाई यातायात पुनः सुचारु गराउन सुरक्षा निकाय तथा सडक विभागको टोली उपकरणसहित खटिएको भए पनि लगातारको वर्षाका कारण पन्छाउन कठिनाइ भइरहेको छ । राजमार्गमा यात्रा गर्ने यात्रुलाई सतर्कता अपनाउन र अत्यावश्यक बाहेकका यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । मुग्लिनबजारमा यातायातको चाप बढेकाले यातायात नचलाउन इन्जिनियर सजना अधिकारीले सर्वसाधारणमा आग्रह गरे ।










