देशका विभिन्न भाग, विशेषगरी मध्य भूभागमा भइरहेको भारी वर्षा आज रातिदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउनेछ ।
भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालका विभिन्न भूभागमा भारी वर्षा भएको हो ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका मकवानपुर र चितवन, गण्डकी प्रदेशका म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनी प्रदेशका पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ ।
त्यसैगरी कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायत जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ ।
हाल मौसमी प्रणाली बिस्तारै कमजोर हुँदै गए पनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
निरन्तरको वर्षाका कारण जमिन गलिसकेको, नदी तथा खोलामा जलसतह बढेको र पहिरोको जोखिम उच्च रहेकाले प्रभावित मध्य भूभागमा विभागले ‘रातो’ रङको उच्च सतर्कता ९प्रतिकार्य० चेतावनी जारी गरेको छ ।
आज रातिदेखि भने मौसममा उल्लेख्य सुधार आउने र भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए । रातिका समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
सोमबारदेखि देशभरको मौसम क्रमशः सफा हुँदै जाने विभागले जनाएको छ । विभागले सोमबारका लागि देशभर कुनै मौसमी जोखिम नरहेको जनाउँदै ‘हरियो’ सङ्केत जारी गरेको छ । सोमबारदेखि तराई क्षेत्रमा घाम लाग्ने तथा पहाडी भूभागमा आंशिक बदली रहने भएकाले मौसम सामान्य बन्दै जाने विभागको भनाइ छ ।










