वैदिक सनातन हिन्दू परम्पराअनुसार दिवङ्गत पितृको सम्मान र सम्झनामा गरिने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्षमा पितृको तिथिअनुसार श्राद्ध, तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पञ्चाङ्गमा आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने उल्लेख छ ।

सोह्रश्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने शास्त्रीय विधान छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यस अवधिलाई ‘सोह्रश्राद्ध’ भनिएको हो ।

यसलाई अपर पक्ष वा प्रेत पक्षका नामले समेत चिनिन्छ । हिन्दू शास्त्रीय परम्परामा चाडपर्व, यज्ञयागादि तथा शुभकार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झने चलन छ । पितृ पक्षका समयमा पितृहरू आफ्ना सन्तानबाट गरिने श्राद्धको अपेक्षामा रहने धार्मिक मान्यता छ ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुने तथा पितृऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ । धर्मशास्त्रमा जाताशौच, मृताशौच वा पत्नी रजस्वला भएको अवस्थाबाहेक सोह्रश्राद्ध नछोड्ने शास्त्रीय मान्यता छ । विभिन्न कारणले तोकिएको समयमा श्राद्ध गर्न नसकिएमा शास्त्रमा वैकल्पिक व्यवस्था पनि गरिएको धर्मशास्त्रविद्हरू बताउँछन् ।

सामान्यतः आफ्ना पितृको तिथिमै श्राद्ध गर्नुपर्ने विधान छ । आपत्कालीन अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था रहेको बताइएको छ । उक्त अवधिमा पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प रहेको छ ।

त्यस दिन पनि सम्भव नभए वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म उपयुक्त दिन पारेर श्राद्ध गर्न सकिने व्यवस्था धर्मसिन्धुलगायतका ग्रन्थमा उल्लेख रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । त्यसैगरी आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र तथा व्यतीपात योग परेको दिन पनि रोकिएको श्राद्ध गर्न सकिन्छ ।

धर्मशास्त्रविद्हरूले सोह्रश्राद्ध अपराह्नकालमा नै गर्नुपर्नेमा जोड दिएका छन् । कतिपय पुरोहितले आफ्नो सुविधाअनुसार बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको जानकारी आए पनि त्यो शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ । पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ ।

दसैँजस्तो ठूलो पर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने कर्म गर्ने वैदिक सनातन परम्परा रहेकाले दसैँअघि सोह्रश्राद्ध गर्ने चलन रहेको धर्मशास्त्रीय मत छ । यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र बडादसैँ दुवै पर्व केही पछि सरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर