‘पेन्सन पट्टा’ यसवर्ष प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये दोस्रो धेरै कमाउने फिल्म बनेको छ।
बक्स अफिस स्रोतका अनुसार फिल्मले मंगलबार बेलुकासम्म ९ करोड ३५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यो कलेक्सनसँगै ‘पेन्सन पट्टा’ले यसअघि दोस्रो स्थानमा रहेको ‘लालीबजार’लाई पछि पारेको हो।
चलचित्र विकास बोर्डका अनुसार ‘लालीबजार’ले ९ करोड ३२ लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो। यसवर्ष सर्वाधिक कमाउने नेपाली फिल्म भने ‘गौंथली’ हो। यसले २६ करोड रूपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ।माओत्से गुरूङ निर्देशित ‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरूङ, विल्सन विक्रम राई, पशुपति राई, बुद्धि तामाङ र विश्वास गुरूङलगायत कलाकारको अभिनय छ।
पेन्सन जीवन, पारिवारिक सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखिएको फिल्मले दर्शकको साथ पाइरहेको छ। प्रदर्शन जारी रहेकाले ‘पेन्सन पट्टा’को कलेक्सन अझ बढ्ने देखिन्छ। फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आएको थियो।










