भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले प्रदर्शनको पहिलो ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९१७ रूपैयाँ ग्रस कलेक्सन गरेको हो।

यस अवधिमा फिल्मका २ लाख ६९ हजार ५४४ टिकट बिक्री भएका छन्। कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सुरूवाती दिनदेखि नै राम्रो व्यापार गरेको थियो। व्यावसायिक रूपमा राम्रो प्रदर्शन गरिरहेको फिल्मले दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाइरहेको छ।

फिल्मको कथा, प्रस्तुति र अभिनयलाई लिएर दर्शकका धारणा फरक-फरक छन्। तर बक्स अफिसमा भने फिल्मले बलियो उपस्थिति देखाएको छ। ११ दिनको कमाइसँगै ‘बाटुलो जून’ अनमोल केसीको करिअरकै दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ।

यसअघि गत वर्ष प्रदर्शनमा आएको उनको फिल्म ‘जेरी अन टप’ सर्वाधिक कमाउने फिल्म बनेको थियो। उक्त फिल्मले घरेलु बक्स अफिसमा १२ करोड २८ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको थियो। ‘बाटुलो जून’ले अब ‘जेरी अन टप’को कमाइलाई उछिन्न ३ करोड ९० लाख ६२ हजार ८३ रूपैयाँ थप कमाउनुपर्नेछ।

‘बाटुलो जून’ले यसअघि नै देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजबाट ‘सुपरहिट’को ट्याग पाइसकेको छ। निर्माण पक्षले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले पहिलो पाँच दिनमा ५ करोड ७५ लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो। तर आधिकारिक बक्स अफिस रिपोर्टअनुसार ११ दिनको कुल कमाइ ८ करोड ३५ लाख ३७ हजार ९१७ रूपैयाँ पुगेको छ।

यस हिसाबले पछिल्ला छ दिनमा फिल्मले २ करोड ६० लाख ३७ हजार ९१७ रूपैयाँ मात्रै थपेको छ। यसले सुरूआती पाँच दिनको तुलनामा पछिल्लो समय फिल्मको कमाइको रफ्तार केही सुस्ताएको देखाउँछ। ‘बाटुलो जून’बाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी प्रिन्सी खतिवडाले पहिलो फिल्मबाटै प्रशंसा बटुलेकी छन्।

टिकटकबाट चर्चामा आएकी उनले यसअघि थुप्रै म्युजिक भिडिओमा मोडलिङ गरिसकेकी छन्। यो फिल्ममा उनको अभिनय, प्रस्तुति र अनमोल केसीसँगको केमेस्ट्रीलाई दर्शकले रूचाएका छन्। प्रिन्सीको कामलाई धेरैले सम्भावनायुक्त रूपमा हेरेका छन्। अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा रहेको फिल्ममा भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना र लक्ष्मी गिरीलगायत कलाकारको समेत अभिनय छ।

विसं २०४० को दशकको नेपाली सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा उतारेको छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जिया केसी र भविष्य खड्का निर्माता छन्।

प्रतिक्रिया

सम्बन्धित खवर