यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार बेलुका ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ बोलको गीत सार्वजनिक गरेको हो।

दाजुभाइबीचको प्रेम, आत्मीयता र एकताको भाव समेटिएको गीतमा सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर छ। डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्।

गीतले सुखदुःखमा दाजुभाइ एकअर्काका सबभन्दा भरपर्दा सहारा हुने भाव व्यक्त गर्छ। भाइहरूका लागि दाइ आशा र भरोसाको केन्द्र हुने तथा भाइहरूको साथ र सामीप्यबीना स्वर्गको सुखसमेत अधुरो हुने भाव गीतमा प्रस्तुत गरिएको छ।

गीतको भिडिओमा स्वर्गलोकमा रहेका युधिष्ठिर आफ्ना भाइहरू समस्यामा परेको थाहा पाएपछि उनीहरूको खोजीमा पृथ्वीलोक आएको देखाइएको छ। यसमार्फत दाजुभाइबीचको आत्मीय सम्बन्ध र अप्ठ्यारो परिस्थितिमा एकअर्काको साथको महत्व दर्शाउन खोजिएको छ।

भिडिओमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला फिचर्ड छन्। गीतको अन्त्यमा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडिओ श्याम तामाङले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

‘पाँच पाण्डव’ वसन्त निरौलाको निर्देशनमा बनेको हो। यसमा महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गरेर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको निर्माणपक्षले जनाएको छ। फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्।

काली रानी फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपानेलगायतको पनि अभिनय छ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर