भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ७१४ गाउँ प्रभावित भएका छन्। चक्रवातसँगै आएको तीव्र हावाहुरी र भारी वर्षाले विभिन्न क्षेत्रमा घर, विद्युत् संरचना र कृषिबालीमा क्षति पुर्‍याएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार चक्रवातका कारण कम्तीमा ३० वटा घरमा क्षति पुगेको छ। विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन्। तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन्।

चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको हो। भारतीय मौसम विज्ञान विभागका अनुसार अर्नब काकीनाडानजिकै जमिनमा प्रवेश गरेको थियो। उक्त क्षेत्र यानमको दक्षिण तथा बापटला र विशाखापट्टनमबीच पर्छ।

चक्रवातको प्रभाव आन्ध्र प्रदेशसँगै ओडिशाका दक्षिणी जिल्लामा पनि देखिएको छ। ती क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भइरहेको जनाइएको छ।

आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा धानबाली डुबानमा परेको छ भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ।

जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै

अर्नबको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ।

जमिनमा प्रवेश गरेसँगै चक्रवात क्रमशः कमजोर हुँदै गएको छ। सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीमा रहेको प्रणालीलाई घटाएर ‘भीषण चक्रवाती आँधी’मा झारिएको छ।

दिउँसोसम्म यो अझ कमजोर भएर सामान्य चक्रवाती आँधी र साँझसम्म गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर