खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वित्तीय स्थितिमा उल्लेखनीय सुधार दर्ता गराएको छ।
विगतमा खुद नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा आफ्नो घाटालाई सुधारेर ३ करोड ६५ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड ८९ लाख १४ हजार रुपैयाँ खुद घाटामा रहेको थियो।
विद्युत् बिक्री आम्दानीमा भएको भारी वृद्धि र सञ्चालन दक्षतामा आएको सुधारले कम्पनीलाई सकारात्मक दिशामा फर्काउन मुख्य भूमिका खेलेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी २७६ प्रतिशतभन्दा बढीले बढेर ६ करोड ८५ लाख २२ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको असोज मसान्तमा १ करोड ८२ लाख २१ हजार रुपैयाँ मात्र रहेको थियो। हाल कम्पनीका दुवै आयोजनाहरूबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेकाले आम्दानीमा यो उत्साहजनक उछाल आएको हो।
आम्दानी वृद्धिसँगै कम्पनीको सञ्चालन नाफा १ करोड १५ लाख रुपैयाँबाट बढेर ५ करोड ७३ लाख ५९ हजार रुपैयाँ पुगेको छ। यसै अवधिमा कम्पनीको बैंक ब्याज खर्च १ कराेड ९३ लाख रुपैयाँबाट घटेर ९१ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ।
वित्तीय सुदृढतासँगै कम्पनीको सञ्चित नोक्सानीमा पनि उल्लेख्य कमी आएको छ। गत वर्ष १६ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष यस वर्षकाे असोज मसान्तसम्ममा घटेर ८ करोड ५८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा झरेको छ। कम्पनीको चुक्ता पूँजी ९३ करोड १४ लाख २८ हजार रुपैयाँ रहेको छ भने दीर्घकालीन ऋण घटेर ५९ करोड ४५ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीका प्रमुख वित्तीय सूचकहरूमा पनि सकारात्मक परिवर्तन देखिएका छन्। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी गत वर्षको ऋणात्मक अवस्थाबाट सुध्रिएर १५ रुपैयाँ ७१ पैसा धनात्मक बनेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ७८ पैसा कायम भएको छ।










