डोल्पा कारागारबाट सुरूङ खनेर भागेका ८ जना कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। उनीहरू दुई जनालाई प्रहरीले बझ बिहान ३ बजेतिर सुतेको घरको पहिचान गरि पक्राउ गरेको थियो। यससँगै पक्राउ पर्ने कैदीको संख्या चार पुगेको छ।

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार रहेका छन्। खोजतलासका क्रममा उनीहरू दुवै जनालाई डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४, रङ गाउँस्थित कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रोकाय जबरजस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय पाएका व्यक्ति हुन् भने परियार चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय भोगिरहेका थिए। यसअघि मंगलबार बिहान रुकुम पश्चिमबाट दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन्।

उनीहरू दुवै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए। कारागारबाट भागेका अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद सजाय भोगिरहेका जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय हरिबहादुर बुढा पनि फरार छन्।

त्यस्तै, चोरी मुद्दामा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारी पनि फरार छन्। उनीहरू सबै कात्तिक १३ गते राति कारागारभित्र सुरुङ खनेर भागेका थिए। फरार चारै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर