चितवनको रत्ननगर नगरपालिकाका १७ परिवारले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका-१२ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारलाई पुर्जा वितरण गरेको हो।

पुर्जा प्राप्त गर्नेमध्ये एक परिवार भूमिहीन दलित, चार परिवार भूमिहीन सुकुम्वासी र १२ परिवार अव्यवस्थित बसोबासी समूहका रहेका छन्।

लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न नसकेका परिवारलाई पुर्जा वितरण गरिएसँगै उनीहरूको जग्गामाथिको कानुनी स्वामित्व सुनिश्चित गर्ने प्रक्रिया अघि बढेको छ।

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सरकारी नीतिअनुसार जग्गाधनी पुर्जा वितरण गरिएको हो। सरकारले यस्ता परिवारको बसोबास र जग्गाको स्वामित्वसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य लिएको छ।

जग्गाधनी पुर्जा वितरणले सम्बन्धित परिवारको भूमि स्वामित्वको कानुनी प्रमाण उपलब्ध गराउनुका साथै उनीहरूको बसोबाससम्बन्धी अनिश्चितता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर