चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारसँग भएका विगतका सहमतिहरू कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी प्रा. डा. गोविन्द केसीले दिएका छन्। २५औँ सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्रीसहितको सरकारी टोलीसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्म पूरा नभएको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले तिहार र छठको सार्वजनिक बिदालाई मध्यनजर गर्दै सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिन थप समय दिइएको स्पष्ट पारेका छन्। अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नगरिए वा सहमतिविपरीतका गतिविधि अगाडि बढाइए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुने उनको चेतावनी छ। आन्दोलनबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनले उल्लेख गरेका छन्।
विज्ञप्तिअनुसार चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै गरिएको २४औँ सत्याग्रह २०८३ साउन ११ गते निश्चित समयभित्र माग पूरा गर्ने सरकारी प्रतिबद्धतापछि स्थगित भएको थियो। तर, सहमति कार्यान्वयन गर्नुको साटो सरकारले चिकित्सा शिक्षा ऐन र सुशासनको मर्मविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णयहरू गरेको डा. केसीको आरोप छ।
सोही निर्णयको खारेजी र पुराना सहमति कार्यान्वयनको माग गर्दै उनले नौदिने २५औँ सत्याग्रह सञ्चालन गरेका थिए, जुन गत कात्तिक २१ गते शिक्षामन्त्री सस्मित पोखरेलसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित भएको थियो। जनताको स्वास्थ्य र शिक्षाजस्ता संवेदनशील सवालमा सरकारलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्ने छुट नरहेको उल्लेख गर्दै उनले विगतका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेका छन्।










