वर्षभरि गुमाएका आफन्तको शोक र पीडालाई धार्मिक तथा सांस्कृतिक विधिबाट बिसाउँदै नयाँ उत्साह र उमङ्गका साथ जीवन अघि बढाउने मौलिक परम्परा बोकेको आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड वडाङ्मेट (मङ्सिरे) पर्व सुरु भएको छ ।

धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ पर्व मनाउन थालेको हो ।

वडाङ्मेट पर्वका अवसरमा वर्षभरि आमाबुबा वा परिवारका सदस्य गुमाएका आठपहरिया समुदायका सदस्य दुःख बगाउने धार्मिक परम्परा पूरा गर्न धनकुटाबाट सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलासम्मको पैदल यात्रामा निस्किएका छन् । गत शनिबार धनकुटाबाट यात्रा सुरु गरेका उनीहरु चार दिनको पैदल यात्रामार्फत बराहक्षेत्र पुगेर पुनः धनकुटा फर्किने परम्परालाई निरन्तरता दिइरहेका छन् ।

आठपहरिया समुदायमा आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने र वर्षभरि लागेको जुठोबाट चोखिने विशेष धार्मिक मान्यता रहेको छ । सोही मान्यताअनुसार परिवारका सदस्य गुमाएका व्यक्तिहरु बराहक्षेत्र नजिकै रहेको कोकाहा खोलामा पुगेर कपाल र दाह्री खौरिने तथा स्नान गरी दुःख बगाउने गर्छन् । चार दिनको पैदल यात्रामा निस्किएका आठपहरियाहरु पहिलो दिन धनकुटाको आहालेमा बास बसेका छन् ।

दोस्रो दिन आइतबार बराहक्षेत्रस्थित कोकाहा खोला पुगेर कपाल र दाह्री खौरिने, स्नान गर्ने तथा बराह भगवान्को दर्शन गरी सोही ठाउँमा बास बसेको आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सूर्य आठपहरियाले जानकारी दिए । धार्मिक विधि पूरा गरेपछि देवता घरमा ल्याउने परम्परा पनि रहेको उनले बताए ।

तेस्रो दिन सोमबार बराहक्षेत्रबाट फर्किने उनीहरु बेलुका धनकुटा नगरपालिकाको बगुवा खोलामा बास बस्ने र मङ्गलबार धनकुटा आइपुग्नेछन् । पैदल यात्राका क्रममा उनीहरु खुल्ला आकाशमुनि बास बस्नुपर्ने चलन रहेको छ । अरूले बनाएको पाटीपौवा तथा चौतारामा बास बस्न नहुने मान्यता रहेको छ । त्यसपछि बुधबार धनकुटा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका २२ वटा मार्गा थान मन्दिरमा भेला भएर विधिपूर्वक पूजा गर्नेछन् ।

वडाङ्मेट पर्व केवल आफन्त गुमाउँदाको शोकबाट मुक्त हुने अवसर मात्र होइन, परिवारमा नयाँ खुसी र उपलब्धिको उत्सव मनाउने पर्वसमेत हो । मार्गा पूजा सम्पन्न भएपछि समुदायका सदस्यले घरघरमा दुःखको कर्म फुकाउने परम्परा पूरा गर्छन् । यस क्रममा वर्षभरि परिवारका सदस्य गुमाएका घरपरिवारले शोकसम्बन्धी परम्परागत विधि सम्पन्न गरी घरमा जेठो सन्तान जन्मिएको वा नयाँ घर निर्माण भएको अवसरमा हर्षबढाइँ गर्ने, आफन्त तथा छरछिमेकलाई बोलाएर भोज खुवाउने र सामूहिक रुपमा नाचगान गर्ने गर्दछन् ।

यो क्रम करिब १५ दिनसम्म जारी रहने र समुदायभित्र रहेका हुम्बारक, छिर्लिङे र खावाडो गरी तीन पाछाका पुस्तागत डल्ले नाच तथा मारुनी नाच चलन रहेको पुजारी उमेश आठपहरियाले जानकारी दिए । मारुनी नाच नाच्नेलाई पैसाको माला दान गर्ने चलन रहेको छ ।

धनकुटा नगरपालिकामा मात्रै मुख्य बसोबास रहेको फरक संस्कार र संस्कृति रहेको आठपहरिया समुदायले वर्षभरि तीनवटा प्रमुख चाड मनाउने गरेका छन् । जसमा वैशाखमा विशु, भदौमा न्वागी र कात्तिक वा मङ्सिरमा वडाङ्मेट पर्व मनाउने गरिन्छ । तीनवटै चाड मनाउन विश्वका जुनसुकै ठाउँमा पुगेका भए पनि मूल बसोबास क्षेत्र धनकुटा नै आउनुपर्ने मान्यता रहेको छ ।

वडाङ्मेटलाई आठपहरिया समुदायको सबैभन्दा ठूलो तथा महत्वपूर्ण चाडका रुपमा लिने गरिन्छ । भाइटिकापछि उपयुक्त साइत जुराएर माङ्ला उठाएपछि वडाङ्मेट पर्व सुरु हुने चलन रहेको छ । धनकुटा नगरपालिकामा करिब छ हजारको हाराहारीमा आठपहरिया समुदायका मानिसको बसोबास रहेको छ । वडाङ्मेट पर्वका अवसरमा धनकुटा नगरपालिकाले मङ्सिर ८ र ९ गते सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर