प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप र ध्यान गरी मनाइँदैछ ।
यस दिन नदी तथा तीर्थस्थलमा स्नान गरी जप, ध्यान र दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । वैकुण्ठ चतुर्दशीका अवसरमा भगवान् विष्णुको पूजा गरी रातभर जाग्राम बस्ने परम्परासमेत रहेको छ ।
धार्मिक मान्यताअनुसार वैकुण्ठ चतुर्दशीको सम्बन्ध भगवान् शिव र विष्णु दुवैसँग जोडिएको छ । शिवसँग सम्बन्धित चतुर्दशीलाई शिववैकुण्ठ र विष्णुसँग सम्बन्धित चतुर्दशीलाई विष्णुवैकुण्ठ भनिन्छ । शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी र व्रतका लागि रातदिन अरुणोदयले युक्त चतुर्दशीलाई उत्तम मानिन्छ ।
भगवान् विष्णुका अनेक नाममध्ये वैकुण्ठ पनि एक हो । वैकुण्ठलाई कुण्ठारहित ज्ञान वा स्थानको आश्रयका रूपमा व्याख्या गरिएको छ । पुराण तथा महाभारतमा पनि भगवान् विष्णुको वैकुण्ठ नाम र त्यसको महिमाबारे उल्लेख गरिएको छ ।
यस दिन भगवान् विष्णुको पूजा गर्न नसके उहाँका नाम मात्र उच्चारण गर्दा पनि पुण्य प्राप्त हुने र आपत्–विपत्बाट रक्षा हुने धार्मिक विश्वास छ ।
महाभारतको शान्तिपर्वमा भीष्मले धर्मराज युधिष्ठिरसहित पाँच पाण्डवलाई भगवान् विष्णुको स्तुति र जपको महत्त्वबारे उपदेश दिएको प्रसङ्ग उल्लेख छ । भीष्मले गरेको विष्णु स्तुतिको स्मरणमा आजदेखि भीष्मपञ्चकसमेत सुरु हुने धार्मिक मान्यता छ ।
पौराणिक मान्यताअनुसार गण्डकी नदीको नाम पनि भगवान् विष्णुसँग जोडिएको छ । त्यस्तै, दामोदर कुण्ड र काठमाडौं उपत्यकाको विष्णुमती नदीको नाम तथा धार्मिक महत्व पनि विष्णुसँग सम्बन्धित रहेको विश्वास गरिन्छ । बूढानीलकण्ठस्थित भगवान् विष्णुको मूर्ति धार्मिक र कलात्मक दृष्टिले प्रसिद्ध छ ।
पण्डित बालमुकुन्द देवकोटाका अनुसार आजकै दिन भगवान् विष्णु वैकुण्ठधाम जानुभएको पौराणिक मान्यता छ ।
हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णुले त्यस अवधिमा आफ्नो कार्यभार भगवान् शिवलाई सुम्पनुभएको र आजकै दिन शिवले पुनः विष्णुलाई कार्यभार बुझाएर कैलाश फर्कने धार्मिक विश्वास छ । त्यसैले वैकुण्ठ चतुर्दशीलाई भगवान् हरि र हर अर्थात् विष्णु र शिवको मिलनको उत्सवका रूपमा पनि मनाउने गरिन्छ ।










