विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो ।

पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ । उनले खेलको १९ औं र ७१ औं मिनेटमा दुवै गोल हेडिङमार्फत गरे ।

खेलको १९ औं मिनेटमा प्रताप गुरुङले हानेको फ्रिकिकलाई पेनाल्टी बक्सबाट ग्रहण गर्दै उनले हेडरमार्फत जाली चुमाएका हुन् ।

खेलको ७१ औं मिनेटमा पनि उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । उनले पेनाल्टी बक्स एरियामा आएको क्रस बललाई हेडमार्फत गोलको दिशा दिएका हुन् ।

पहिलो हाफमै १–० ले पछि परेको एपीएफ दोस्रो हाफमा सम्हालेर मैदान प्रवेश गरेको थियो । आक्रामक रुपमा प्रस्तुत भएको एपीएफ दोस्रो हाफको अधिकांश समय विपक्षी टिमलाई दबाबमा राखेको थियो ।

तर, पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्न पुग्यो । आहाराराको २३ औं संस्करणसम्म आइपुग्दा दुवै टिमले दोस्रो पटक सँगै मैदान उत्रिएका थिए ।

यसअघि २०६४ मा भएको छैटौं आहा गोल्डकपको फाइनलमा दुवै टिम पुगेका थिए । त्यतिबेला पनि नेपाल पुलिसले एपीएफलाई २–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

नेपाल पुलिस क्लब आहारारा पोखराको अनुभवी र सर्वाधिक विजेता टिम पनि हो । पुलिसले हालसम्म ६ पटक आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ भने ५ पटक उपविजेता बनेको छ । नेपाल पुलिस लगातार ३ पटक उपाधि जितेर ह्याट्रिक गर्ने टिम पनि हो ।

२०५८ सालमा भएको आहाराराको पहिलो संस्करण ‘क्याराभान कप’बाटै विजयी सुरुआत गरेको थियो । क्याराभान कपमा पुलिसले मनाङ मर्स्याङ्दीलाई फाइनलमा २–१ ले पराजित गरेको थियो ।

त्यसयता, विभागीय टोली नेपाल पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ सालको आहाराराको उपाधि जितिसकेको छ ।

त्यसबाहेक आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस ५ पटक फाइनल पुगेर पनि पराजित बनेको छ । नेपाल पुलिस ०६०, ०६१, ०६२ र ०७६ मा फाइनलमा पुगेर पनि हार व्यहोरेको थियो ।

अघिल्लो संस्करणको आहारारा पोखरा गोल्डकपमा पुलिस डेब्यु टोली चर्चब्वाइजसँग प्रिक्वार्टरमै २-१ ले पराजित हुन पुगेको थियो । यसपालि नेपाल पुलिसले क्वार्टरफाइनलमा माघ १६ गते चर्च ब्वाइजसँग नै सेमिफाइनल प्रवेशका लागि स्पर्धा गर्नेछ ।

भोलिबाट क्वार्टरफाइनल खेल सुरु हुनेछन् । क्वार्टरफाइनलअन्तर्गत पहिलो खेल आमन्त्रित क्लब भुटानको पारो एफसी र थ्रीस्टारबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर