काठमाडौँ उपत्यका लगायत देशैभरि चिसो अत्यधिक बढेको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि घट्दै गएको छ ।
केही महिना यता वर्षा नभएका कारण खडेरी पनि बढ्न थालेको छ । मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने तराइका जिल्लाहरूमा हुस्सु र कुहिरो लागेको छ ।
हिजोको तुलनामा आजको तापक्रम केही बढेको भएपनि काठमाडौँमा भने भिजिबिलिटी समेत कम भएर उडानमा समस्या आएको छ ।
आजदेखि तीन दिनसम्म प्राय सबै प्रदेशका पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना रहेको र त्यसपछि बिस्तारै तापक्रमका सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदो बिहीबारसम्म कोशी, बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बादल भएका बेला तापक्रममा खासै गिरावट नआउने तर वर्षा भइसकेपछि केही दिन तापक्रममा गिरावट आएपनि त्यसपछि बिस्तारै सुधार हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन ।
फेब्रुअरी महिनासम्म शिशिर ऋतु यथावत् रहने भएकाले त्यतिबेलासम्म चिसो हुने सम्भावना रहने तर हल्का वर्षा भइसकेपछि भने तापक्रममा वृद्धि हुँदै जाने सम्भावना रहन्छ । तराइका जिल्लाहरूमा अहिले लागिरहेको बिहानीपखको हुस्सु कुहिरो वर्षापछि छिटो हट्ने र बिस्तारै न्यानो हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेको एक दुई दिन तापक्रममा केही गिरावट आएपनि त्यसपछि बिस्तारै न्यानो हुँदै जाने मौसमविद् मानन्धर बताइन ।
माघ महिना लागिसकेपछि चिसो थप बढ्दै गएको र तराइमा हुस्सु, कुहिरोका साथै शितलहर पनि बढ्दै गएको छ । चिसो बढेका कारण तराइका कतिपय जिल्लाका विद्यालयमा पठनपाठन समेत बन्द गरिएको छ । जाडो महिनामा चिसोबाट बच्न तातो र झोलिलो कुरा खाने, न्यानो लुगा लगाउने, हिटर तथा आगो तापेर बस्ने र चिसोमा लाग्नसक्ने रोगहरूबाट बच्न रोग प्रतिरोधी क्षमता बढाउने उपाय अपनाउनुपर्ने हुन्छ ।










