
२९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ माघ २५ गते बिहीबारदेखि सुरु भएको छ । पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ ।’
नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेर कार्यान्वयनमा ल्याइएको र डेटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानुनको तयारी भइरहेको उनले जानकारी दिइन् । प्रदर्शनीस्थल भृकुटीमण्डपमा सूचना प्रविधिसम्बन्धी एक सय ५० वटा स्टल रहेका छन् । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपाली नवप्रवर्तन, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा क्रियाशील उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गर्न निःशुल्क स्टलको व्यवस्था गरिएको बताए । इन्फोटेकको अवलोकन गर्न सर्वसाधारणका लागि सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।