नेपालगन्ज- नेपालगन्ज र कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज र काठमाडौंस्थित अन्नपूर्ण अस्पताल (अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेस)बीच सम्झौता भएको छ। नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर दुबै स्थानमा न्यूरो सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेगरी सम्झौता भएको हो।
मेडिकल कलेजका तर्फबाट प्रबन्ध सञ्चालक डा सुरेशकुरमा कनोडिया र अन्नपूर्ण अस्पतालका तर्फबाट अध्यक्ष डा बसन्त पन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपालगन्ज मेडिकल कलेजको न्यूरोसाइन्स विभाग अन्नपूर्ण अस्पतालको प्राविधिक सहयोग र सुझावमा संयुक्त रुपमा सञ्चालन हुने उल्लेख छ।
यो सम्झौताले पश्चिम नेपालका बिरामीलाई न्यूरोसाइन्सको क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको दुवै संस्थाले जनाएका छन्। संयुक्त रुपमा सञ्चालन हुने न्यूरो साइन्स विभागको ओपिडी, वार्ड, सघन उपचार कक्षदेखि प्रेस्किप्सनमा समेत अन्नपूर्ण अस्पतालसँगको सहकार्य रहेको लोगो समेत राखिने सम्झौता भएको छ।
सम्झौता अनुसार अन्नपूर्ण अस्पतालले नेपालगन्ज मेडिकल कलेजमा तीन जना वरिष्ठ न्यूरो विशेषज्ञ र दुई जना रेसिडेन्ट खटाइने छ। यसरी खटाइएका न्यूरो टिमलाई मेडिकल कलेजले हरेक महिना सहमति अनुसार तलब दिने छ भने ती चिकित्सकले प्राइभेट प्राक्टिस गर्न पाउने छैनन्।