मिर्गौला शरीरको महत्त्वपूर्ण अंग मध्ये एक हो । त्यसैले यसको विशेष ख्याल राख्नु जरुरी छ । आजकल वयस्कहरूसँगै युवाहरू पनि मिर्गौलासम्बन्धी समस्याबाट पीडित छन् । यो समस्याको मुख्य कारण उनीहरूको अस्वस्थ जीवनशैली र गलत खानपान हो ।
मिर्गौलामा स-साना प्वाल हुन्छन्, जसलाई ग्लोमेरुलस भनिन्छ । यसले रगतलाई छान्ने काम गर्छ । छानिएकाबाट आवश्यक तत्व पुनः सोस्ने गरी शरीरमा नै पठाउने तथा अनावश्यक दूषित पदार्थ पिसाबमार्फत बाहिर निष्कासन गरी शरीर स्वास्थ र सन्तुलित राख्न मद्दत गर्छ ।
तर कुनै पनि कारणले यसरी छान्ने क्षमता ह्रास आएमा मिर्गौलामा रोग लागेको संकेत हो ।
मिर्गौला खराब हुँदा देखिने लक्षण
बिहान उठ्दा आँखाको डिल सुन्निनु, खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु, शरीर सुन्निने, अकस्मात् तौल बढ्ने, रक्तअल्पता हुने, अल्छी लाग्ने, थकान महसुस हुने, थोरै हिंड्दा पनि स्वाँस्वाँ हुने समस्या मिर्गौला खराब हुँदा देखिने लक्षण हुन् ।
यस्तै हड्डी दुख्ने, पिसाब छिनछिनमा आउने, पिसाब फेर्दा धेरै फ्रिज ननिस्किने, पिसाबको रंग चिया जस्तो हुने पनि समस्या देखिन्छ ।
कहिलेकाहीं मिर्गौलामा समस्या भएपनि कुनै पनि लक्षण नदेखाउन सक्छ । यस्तो अवस्थामा कहिलेकाहीं कोखा दुख्ने, पिसाब पोल्ने, ज्वरो आउने भएमा पनि मिर्गौलासम्बन्धी समस्या भएको हुनसक्छ ।
मिर्गौला के कारण बिग्रिन्छ ?
मिर्गौला बिग्रिने मुख्य कारण नै मधुमेह हो । पहिले विकसित मुलुकहरुमा मात्रै धेरै देखिने मधुमेह अहिले विकासशील र विकासोन्मुख मुलुकको पनि साझा बनेको छ । पहिला मधुमेहको समस्या उमेर ढल्केपछि देखिन्थ्यो भने आजभोलि वयस्क अर्थात् ३०-४० वर्षमा नै देखिन थालेको छ ।
उच्च रक्तचाप, क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस (यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो ।) हुनसक्छ । त्यस्तै मिर्गौलामा पत्थरीको उपचार समयमा नगरेमा र अन्य वंशाणुगत रोगका कारणले पनि मिर्गौला फेल हुनसक्छ ।
मिर्गौला स्वस्थ राख्न कस्तो खानपान गर्ने ?
सन्तुलित आहार अर्थात् ब्यालेन्स डाइट खाने गर्नुपर्छ । दैनिक खाने खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, फाइबर, क्याल्सियम र भिटामिनको सन्तुलित रुपमा समावेश गर्नुपर्छ । तर फाइदाजनक छ भनेर धेरै खानु हुँदैन । त्यस्तै पर्याप्त मात्रामा पानी पिउने, धुम्रपान तथा मद्यपान नगर्ने, मोटोपन कम गर्ने, नदुख्ने औषधिको प्रयोग कम गर्ने, जंकफुडको सेवन सकेसम्म कम गर्ने, डिपफ्राइ खानेकुरा सकेसम्म खानु हुँदैन ।
तेलको प्रयोग गर्दै नगर्ने भन्ने होइन, मात्रा मिलाएर गर्नुपर्छ । तेलले भिटामिन ए, डी, ई र के अवशोषित गर्न मद्दत गर्छ । मात्रा मिलाएर घरमै बनाएर ताजा खानेकुरा र फलफूल खानुपर्छ । विशेषगरी खानपान र जीवनशैली परिवर्तन सके मिर्गौला स्वस्थ राख्न सकिन्छ ।










