बढी शुल्क लिएको भन्दै अछामको जनकल्याण माविमा विद्यार्थीहरूले ताला लगाएका छन् । साँफेबगर नगरपालिका–४ मा रहेको जनकल्याण माविमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ताला लगाएका हुन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तोकेको भन्दै बढी शुल्क लिएको भन्दै सिभिल इन्जिनियरिङ र जियोमेट्रिक अध्ययनरत विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
सीटीईभीटीले अधिकतम २ लाख ३० हजार रुपैयाँ शुल्क लिन पाउनेगरी तोकेको थियो । तर, विद्यालयले २ लाख ५१ हजार २०० रुपैयाँ लिँदै आएको छ । बढी शुल्क घटाउन माग गर्दा विद्यालयले आनाकानी गर्दै आएको भन्दै तालाबन्दी गरिएको अनेरास्ववियु अछाम जिल्ला कमिटी सह–सचिव मनोज रावलले जानकारी दिए । सिभिल इन्जिनियरिङ पाँचौँ सेमिस्टरमा अध्ययनरत विद्यार्थी समेत रहेका रावलले बढी शुल्कको विषयमा कुरा राख्दा विद्यालयले मतलब नै नगरेको बताए ।
विगत ६ महिनाभन्दा बढी समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक भीम बहादुर बुढाले विद्यालय व्यवस्थापन समितिले नै निर्णय गरेको र नयाँ समिति आएपछि मात्रै शुल्कबारे निर्णय गरिने बताउँदै आएका छन् ।
विद्यालयले १ लाख ८० हजार रुपैयाँ शुल्क लिने गरेको छ । त्यसमा थप एक हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क, दुई हजार रुपैयाँ परीक्षा शुल्क, दुई हजार रुपैयाँ आन्तरिक परीक्षा शुल्क, त्यसमा थप प्रत्येक आन्तरिक परीक्षामा प्रत्येक विद्यार्थीबाट २०० रुपैयाँ थप शुल्क लिँदै आएको छ ।
त्यस्तै ल्याबको लागि १० हजार, सर्भे क्याम्पवापत ५ हजार रुपैयाँ, परिचय पत्रका लागि ३०० रुपैयाँ, किताबका लागि २६ हजार, शैक्षिक भ्रमणबापत १५ हजार रुपैयाँ शुल्क लिने गरेको रावलले बताए ।
व्यवस्थित ल्याब नभएको र ल्याबमा भएका केमिकलहरू समेत पुरै डेट एक्सपायर भएको र कम्प्युटर ल्याबमा प्राय कम्प्युटरहरु बिग्रेको, विद्यार्थीहरूले सिक्नुपर्ने अटोक्याड अहिलेसम्म नसिकेको उनको भनाई छ । त्यस्तै केमिस्ट्री र फिजिक्स ल्याब दुई पटक मात्र गर्नुपर्ने भएकाले ल्याब शुल्क प्रत्येक विद्यार्थीबाट १० हजार रुपैयाँ लिन गरेको उनको भनाइ छ ।
विद्यालयले शुल्क घटाउने विषयमा विद्यालय व्यवस्थापन समिति गठन भएपछि मात्रै निर्णय गर्न सकिने भन्दै पन्छिँदै आएको उनको भनाइ छ ।










