तापक्रम विस्तारै उकालो लागेर गर्मी शुरु भएसँगै डेंगुका विरामी बढ्न थालेका छन्। सामान्यतया अन्य मौसममा भन्दा गर्मी मौसममा यस्ता संक्रमण बढ्ने गर्छ। तापक्रम बढ्दै गएपछि फेरि डेंगुका विरामी रिपोर्ट हुन थालेका छन्।

यो वर्षको वैशाखदेखि असोजसम्मै डेंगु संक्रमण तीव्र गतिमा बढ्दा ५१ हजारभन्दा बढी संक्रमित भएका थिए। मंसिर लागेर जाडो शुरु भएपछि संक्रमण कम हुँदै गएको थियो तर फेरि तापक्रम बढ्दै जाँदा डेंगुका विरामी देखिन थालेको हो।

पछिल्ला वर्ष गर्मी मौसममा जनस्वास्थ्यको चुनौती बन्दै गएको डेंगु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्ला दिन सातामा २४ जनासम्म डेंगुका विरामी भेटिन थालेका छन्।

जनवरी र फेब्रुअरीमा थोरै विरामी भेटिए पनि त्यसयता विस्तारै डेंगुका विरामीको संख्या बढ्दै भएको ईडीसीडीले जनाएको छ।

ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालका अनुसार जनवरीयता ६ सय जना डेंगुका विरामी देखिइसकेका छन्।

‘अहिले हप्ताको २४ वटासम्म डेंगुका केस रिपोर्ट भएको छ, जनवरीयता ६ सय जति केस रिपोर्ट भयो होला, कुन क्षेत्रबाट केस रिपोर्ट हुने संख्या बढिरहेको छ भन्ने  निगरानी गर्नु पर्नेछ‚’ डा दाहालले भने। ईडीसीडीले जनवरी १ देखि ७ सम्म पहिलो हप्ता भनेर तथ्यांक राख्दै आएको छ।

विशेषगरी तापक्रम बढ्दै गएपछि डेंगु सार्ने एडिज लामखुट्टेको सङ्ख्या बढेमा डेंगु संक्रमण बढ्ने गर्छ। यो लामखुट्टे सफा पानी र १८ डिग्रीभन्दा बढी तापक्रममा सक्रिय हुन्छ।

तर पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा एडिज लामखुट्टे सबै मौसममा बाँच्न र फैलनअनुकूल वातावरण बन्दै जाँदा वर्षातको समयमा देखिने डेंगु संक्रमण वर्षैभरि देखिन थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर