कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ लाई जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको हो । नेपालका लागि आरिफ शेखले उत्कृष्ट पाली खेल्दै अविजित ९३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले आक्रामक पाली खेल्दै केवल ४८ बलमा ६ छक्का र सातवटा चौका पनि प्रहार गरे । उनी केवल सात रनका कारण शतक पुरा गर्नबाट चुके । रासिद खानले २४ रन बनाए ।तीन खेलको शृङ्खला भने आयरल्यान्ड ‘ए’ ले यसअघि नै जितिसकेको छ । शुक्रबार खेलिएको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ ले घरेलु टोली नेपाल ‘ए’ लाई २१ रनले हराएको थियो । शनिबार खेलिएको दोस्रो टी–२० खेलमा पनि आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई ४० रनले पराजित गरेको थियो ।
सोमबार हुने तेस्रो खेलमा नेपाली टोली सान्त्वना जितेको खोजीमा छ । अर्कोतिर, भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ भने शृङ्खला ‘क्लिन स्विप’ गर्ने दाउमा छ । टी–२० शृङ्खलापछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच तीनवटा एकदिवसीय खेलको शृङ्खला खेलिने छ ।










