त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रारको नियुक्ति प्रक्रिया रोकिएको छ । उपकुलपति प्राडा केशरजंग बरालले सिफारिस गरेको रेक्टर र रजिष्ट्रारको नियुक्ति विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेका हुन् । उपकुलपति बरालले सिफारिस गरेर पठाएका नामहरू रोकेर प्रधानमन्त्री प्रचण्ड सत्तारूढ दल नेकपा एमालेसँग छलफलमा लागेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उपकुलपति बरालले सिफारिस गरेका नाममा असन्तुष्टि जनाएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नियुक्ति नगरी रोकेर राखेका हुन् ।

आफूले सिफारिस गरेका व्यक्तिलाई नियुक्ति नगरेको भन्दै उपकुलपति बराल भने असन्तुष्ट बनेका छन् । उपकुलपति बरालले रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।

सिफारिस भएका केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन् भने रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

नेकपा एमाले र नेपाली कांग्रेसले आफूले भनेका व्यक्ति सिफारिसमा नपरेको भन्दै असन्तुष्टि जनाएका छन् । दुवै पार्टीको तर्फबाट सिफारिसमा परेका नामहरूमा असन्तुष्टि जनाएपछि कुलपतिले नियुक्ति रोकेको उपकुलपति कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर