प्रदूषणको मात्रा बढ्दै जाँदा आँखाको जाली र नानीमा बढी असर गर्छ । सुरुसुरुमा आँखामा धुलो वा बालुवा परेको जस्तो गरी बिझाउँछ, बिझाएपछि धेरैले आँखा माड्छन् अनि रातो हुन्छ । त्यसपछि पोल्न थाल्छ ।
प्रदूषणका कारण आँखाको दृष्टि गुम्ने सम्भावना भने हुँदैन । आँखा धेरै माडेमा भने घाउ हुन्छ । अहिले अस्पताल जानेमध्ये धेरैमा आँखा पोल्ने, बिझाउने र रातो हुने समस्या देखिएको छ । वायु प्रदूषणले आँखामा दीर्घकालीन समस्या पनि निम्त्याउन सक्छ ।
पछिल्लो समय मानिस स्वास्थ्यप्रति अलि धेरै सजग बन्दै गएका छन् तर वायु प्रदूषणको समस्या नेपालमा धेरै अगाडिदेखिकै समस्या हो । प्रदूषणका कारण पछि गएर आँखाको जाली पाकेर दुख्ने सम्भावना धेरै हुन्छ ।
जाडो र गर्मीको बीचको समय जस्तै चैत, वैशाख र कात्तिक, मङ्सिरमा आँखाका बिरामी बढ्छन् । चैत, वैशाख र कात्तिक, मङ्सिरमा एलर्जीलगायतका समस्या धेरै हुने गर्छ । एलर्जी भएमा आँखा सुन्निने र बेस्सरी चिलाउने हुन्छ ।
आँखामा समस्या हुने अहिलेको समयमा प्रदूषणले झन् समस्या थपिदिएकाले सचेत हुनुपर्छ । प्रदूषणले सबै खालका आँखाका क्षमता भएकालाई उत्तिकै असर पार्छ ।
आँखा कसरी जोगाउने ?
घर बाहिर निस्कँदा विभिन्न खालका सुरक्षा सावधानी अपनाउनुपर्छ । बाहिर हिँड्दा चस्मा लगाउने, प्रशस्त मात्रामा पानी पिउने, भिडभाडमा कम जाने गर्नुपर्छ ।
आँखा रातो भयो वा बिझायो भनेर आँखामा पानी छ्याप्नु हुँदैन । आँखा रातो भयो, चिलायो, बिझायो भनेर आँखामा पानी छ्याप्दा त्यसले झनै असर गर्छ । बिहान र बेलुका धेरै प्रदूषण भएको बेला घरबाट बाहिर निस्कनु हुँदैन ।
आँखा अलिअलि बिझाउँदैमा र पोल्दैमा अस्पताल गइहाल्न पर्दैन तर आँखा रातो भयो, आँखाबाट आँसु आउन थाल्यो, दुख्यो भने एक पटक नजिकैको आँखा अस्पतालमा गएर जाँच गर्ने र डाक्टरको सल्लाह लिनुपर्छ ।










