इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा मंगलबार दुई बलिया टोलीबिच भिडन्त हुँदैछ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलको यो ३१औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । राजस्थान रोयल्स १० अंकसहित तालिकाको पहिलो र कोलकाता नाइट राइडर्स आठ अंकसहित दोस्रो स्थानमा छन् ।
मंगलबारको खेलमा विजयी हुने टोली तालिकाको पहिलो स्थानमा उक्लने छ । राजस्थान रोयल्सको यो सातौँ खेल हो । राजस्थान रोयल्स यसअघि खेलिएको ६ मध्ये पाँच खेलमा विजयी भएको छ । एक खेलमा भने राजस्थान पराजित भएको छ ।
जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सको भने यो छैटौँ खेल हो । कोलकाता यसअघि खेलिएको पाँचमध्ये चार खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । कोलकाताले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई चार रनले हराएको थियो ।
कोलकाताले दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले र तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १०६ रनले हराएको थियो । कोलकाता चौथो खेलमा चेन्नई सुपर किङ्ससँग सात विकेटले हारेको थियो । कोलकाताले पाँचौँ खेलमा लखनउलाई आठ विकेटले हराएको थियो ।
तालिकामा राजस्थानसँग दुई अंकले पछाडि परे पनि नेट रनरेटमा भने कोलकाता अगाडि देखिन्छ । त्यसैले मंगलबारको खेलमा राजस्थान रोयल्सलाई हराउन सफल भएमा कोलकाता नाइट राइडर्स तालिकाको पहिलो स्थानमा उक्लने छ ।










