एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।
एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।
डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ ।
बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेङ्गी सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ। प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ। अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ। डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ। यसले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ। यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन।यो लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्छ।
डेङ्गी भएको कसरी थाहा पाउने?
डेङ्गी हुँदा एक्कासी चर्को ज्वरो आउँछ। ज्वरो भाइरसको कारण आउँछ।
जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने हुन्छ।
कसैकसैलाई घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने, वा पेट दुख्ने पनि हुन्छ। यसको जटिलता बढेसँगै नाक र गिजाबाट रगत समेत बग्ने हुन्छ।
बिरामीको शरीरमा रक्तकोषिकाको कमीसँगै प्लेटलेट कमी भएपछि आन्तरिक र बाह्य रक्तश्राव हुन्छ।
जटिलता बढेसँगै शरीरका विभिन्न भित्री अङ्गमा रगत कम हुन्छ र अङ्गहरूले राम्रो काम गर्न नसक्दा गम्भीर अवस्थामा पुगेर एक प्रतिशत बिरामीको ज्यान जान्छ।
सामान्य अवस्थाका बिरामीहरू अधिकांश बिस्तारै डेङ्गी ज्वरोबाट आफै निको पनि हुन सक्छन्।
डेङ्गी भाइरसका कारण ज्वरो आएमा प्रशस्त आराम गर्ने, झोलिलो तथा तागतिलो खानेकुरा बिरामीले खानु पर्छ।
बच्ने उपाय
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।
यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।










