सन् २०२१ मा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले सुकुमार निर्देशित ‘पुष्पा’बाट भारतको हिन्दीभाषी राज्यमा जबर्जस्त डेब्यु गरे । यो फिल्मले विश्व बक्स अफिसमै तहल्का मच्चायो ।
शैली, नृत्य र संगीतदेखि लिएर संवाद र पात्रसम्म यो फिल्मका हरेक पक्ष युवापुस्ताले अनुशरण गर्यो । त्यसयता फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा २ : द रुल’को निकै चर्चा र पर्खाइ छ ।
निर्माताले केही दिनअघि फिल्मको फस्टलुक टिजर सार्वजनिक गर्दै फिल्मलाई अगस्ट १५ (साउन ३१ गते) प्रदर्शन हुने जानकारी दिए ।
यसैबीच, यो फिल्मको उत्तरी भारतमा अहिलेसम्मकै कीर्तिमानी मूल्यमा वितरण अधिकार बिक्री भएको खबर पिंकभिल्लाले छापेको छ । वितरक अनिल थडानीले २०० करोड भारु मूल्यमा उक्त क्षेत्रका लागि फिल्मको राइट किनेको जनाइएको छ ।










