
काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । घुइँचोको कारण सो स्थान भएर चल्ने सवारी साधन डाइभर्सन गरिएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बालाजु बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्छ ।
स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्न बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकहरु पनि पुगेका छन् । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास छ ।
बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको जानकारी दिए ।
भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने अनुमान समितिले गरेको छ ।