यतिबेला देशभरको तापक्रम बढ्दो छ। तापक्रम बढ्दै गएका कारण देशका धेरै स्थानमा ‘लू’को जोखिम बढेको छ। गर्मी बढेसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु गर्छ । गर्मी मौसममा खासगरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । गर्मी मौसममा हरेक मानिस त्यस्तो तातो हावाबाट बच्न चाहन्छ ।
गर्मीमा जब हामी लापरवाहीपूर्वक बाहिर निस्कन्छौं, तब चर्को घाम र तातो हावाले शरीरको बाहिरी छालालाई अत्यधिक तातो बनाइदिन्छ । जसका कारण हामी ‘लू’को चपेटामा आउँछौं । अत्यधिक गर्मीका कारण रक्तनलीहरु फराकिलो हुन्छ । यसले गर्दा रक्तसञ्चार प्रकृया बढ्छ र शरीरभित्रको पानी पसिनाको रुपमा बाहिर निस्कन्छ ।
रक्तसञ्चार प्रक्रिया बढ्नु र शरीरको रगत तातो हुनाले शरीर भित्रको तापक्रम पनि बढ्छ, जसलाई ‘लू’ लाग्नु भनिन्छ ।
‘लू’ लाग्नुको प्रमुख कारण शरीरमा नुन र पानीको कमी हुनु हो । पसिनाको रुपमा नुन र पानीको ठूलो मात्रा शरीरबाट निस्कन्छ र रगतको तापक्रम बढाइदिन्छ । टाउको भारी भएको महसुस हुनु, नाडीको गति बढ्नु, रगतको गति पनि तीव्र हुन थाल्नु यसका लक्षणहरू हुन् । त्यस्तै सास गति पनि अनियमित हुनु, ज्वरो बढ्नु, हातको हत्केला र खुट्टाको पैताला पोल्नु, आँखा पोल्नु जस्ता समस्याहरू देखिन्छन् । जसका कारण बिरामी बेहोस हुन्छ र कसै-कसैको यही कारण मृत्यु पनि हुन्छ ।
धेरै पानी पिउने, चिसो पानीले नुहाउने बाहिर निस्कनै परे छाता ओड्ने वा पातलो कपडाले टाउको छोप्ने हल्का खालको सितल हुने कपडा लगाउने,
खेतबारी वा घर बाहिर काम गर्दा बिहान वा बेलुका गर्ने
कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउने, फलफूल, काँक्रो लगायत घरमै बनाएका ताजा खानेकुरा खाने
क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता पेय पदार्थ नपिउने, दिउसो सकभर घर बाहिर ननिस्कने ,भान्सामा धेरै समय नबस्ने, बस्न परेमा प्रशस्त पानी पिउने,
धूम्रपान तथा मदिरा सेवन नगर्ने ,काँक्रोको सेवन गर्नुपर्छ । गर्मी मौसममा काँक्रो खानाले शरीरले शीतलता प्राप्त गर्दछ । जसबाट एकाएक ‘लू’को असर पनि हुँदैन ।
सकेसम्म धेरैभन्दा धेरै पानी पिउनुपर्छ । घाममा धेरै ननिस्कनु नै उत्तम उपाय हो । यदि निस्कनै छ भने शरीरलाई पूरै तरिकाले ढाकेर मात्र निस्कनु होला ।
थोरैमात्र लापरवाहीले पनि तपाईंलाई लुले आफ्नो शिकार बनाउन सक्छ । त्यसैले हरेक सानोभन्दा सानो कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं एसी अथवा कुलरको अगाडि बस्नु भएको छ भने कहिले पनि अत्यधिक घाम अथवा हावामा नजानुहोला ।
एसीमा बस्दा रक्तनलीहरू संकुचित हुन्छन् । अचानक एसीबाट सोझै चर्को घाममा जानाले शरीरको तापमान अचानक परिवर्तन हुन्छ । जसबाट खुम्चिएको रक्तनलीहरू अचानक फैलिन थाल्छ र ब्लड प्रेसर बढ्छ ।
यो स्थितिमा कुनै पनि व्यक्ति लूको शिकार बन्न सक्छ । यसबाट बच्नका लागि एउटा सरल तरिका के छ भने एसीबाट बाहिर आएको केही समयका लागि कुनै शीतल ठाउँमा बसेर शरीरको तापमानलाई सामान्य बनाउनुपर्छ ।
कुनै पनि प्रकारको क्रिम लगाएर घाममा निस्कनुहुँदैन । क्रिम तैलीय पदार्थ भएकाले त्यसलाई लगाउनाले छालाको रौं छिद्र बन्द हुन्छ। जसबाट पसिना नआउनाले शरीरको तापमान नै असन्तुलित हुनपुग्छ ।










