काठमाडाैं- काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण साेमबारदेखि हुने भएको छ। ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित स्वास्थ्य सम्मेलन हुन लागेको हो।

सञ्चारकर्मीहरूको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपालको साथमा कान्तिपुर मिडिया ग्रुप र नेपाल स्वास्थ्य पत्रकार मञ्चको सहकार्य र स्वास्थ्य तथा गैरस्वास्थ्य निकायहरूको सहजिकरणमा सम्मेलन हुन लागेको हो।  

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने आयोजकले जनाएको छ। सम्मेलनमा अहिलेका मुख्य सरोकारका विभिन्न ६ वटा विषयहरूमा छलफल हुने छ।

आयोजकका अनुसार छलफलका सत्रहरूमा पहिला मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृश्य र पर्यटनको अवसरका विषयमा छलफल हुनेछ।

साथै जलवायु परिवर्तनका कारण दबाबमा नेपालको जनस्वास्थ्यको विषयमा पनि सम्मेलनका क्रममा छलफल हुँदैछ। स्वास्थ्य बीमा कार्यक्रमः चुनौती र अवसर, नसर्ने रोगका जोखिम विरुद्ध हाम्रो रणनीतिजस्ता विषयमा पनि बहस हुँदैछ। सम्मेलनका अवसरमा बहसमा नेपालको चिकित्सा शिक्षाको विषयमा पनि वृहत छलफल हुनेछ।

मैलिक हकमा समेटिएको स्वास्थ्य  सेवामा बढ्दो व्यापारिकरणका विषयमा पनि सम्मेलनमा गहन छलफलको सत्र राखेको छ।  साथै सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचान सहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने लक्ष्य लिएको छ।

नेपाल स्वास्थ्य सम्मेलनको पहिलो  संस्करण २०७७ साल चैत्रमा काठमाडौंमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर