जापानमा सन् २०२४ मा स्ट्रेप्टोकोकल टक्सिक शक सिन्ड्रोम (एसटीएसस)का ‘केस’ एक हजार नाघेको छ । राष्ट्रिय संक्रामक रोग संस्थानले यसबारेमा जानकारी गराएको हो ।

यो वर्षको सुरुदेखि देशमा संक्रमितको प्रारम्भिक संख्या एक हजार १९ पुगेको एनआईआईडीको तथ्यांकले देखाएको छ । विगतका वर्षहरूको तुलनामा यो गम्भीर ब्याक्टेरिया संक्रमणको फैलावटमा उल्लेख्य वृद्धि भएको देखाएको छ । एसटीएसस – जसलाई गम्भीर आक्रामक स्ट्रेप्टोकोकल संक्रमण पनि भनिन्छ, यो अचानक सुरु हुने रोग हो । मुख्य रूपमा ग्रुप ‘ए’ स्ट्रेप्टोकोकसको कारणले हुन्छ ।

प्रारम्भिक लक्षणहरूमा सामान्यतया घाँटी दुख्ने, ज्वरो आउने, भोक नलाग्ने, पखाला लाग्ने, बान्ता हुने र अरू ग्यास्ट्रोइन्टेस्टाइनल समस्या देखिन्छ । साथै, कम रक्तचापजस्ता सेप्टिक लक्षण देखिन्छ ।

यो ब्याक्टेरिया संक्रमित व्यक्तिको थुकको छिटाबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बोल्दा, खोक्दा वा हाछ्यु गर्दा ब्याक्टेरिया अर्को व्यक्तिमा सर्न सक्दछ। संक्रमितको थुकको छिटा भएको वस्तुमा छोई नाक वा मुखमा छोएमा पनि संक्रमण सर्न सक्दछ।

तुरुन्तै उपचार नगरिए यसबाट श्वासप्रश्वासको विफलता, कलेजो, मिर्गौला र बहु–अंग ‘फेल’ हुनसक्छ । यसको मृत्युदर ३० प्रतिशतभन्दा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर