परराष्ट्रमन्त्री एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आगामी १२ कात्तिकदेखि हुने नेपाल भ्रमणमा भेटघाट गरेर मन्त्री साउद अमेरिका जाने तयारी चलिरहेको छ ।

हाल बेइजिङमा जारी बेल्ट एन्ड रोड फोरममा सहभागिता जनाइरहेको यूएन महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउने कार्यतालिका छ । परराष्ट्रमन्त्री साउदको सचिवालयले गुटेरेस नेपाल आइपुगेपछि मात्रै उनको अमेरिका भ्रमण हुने जानकारी दिइएको छ ।
‘संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस कात्तिक ११ को राति (१२ गते बिहान) नेपाल आउनु हुँदैछ । यूएन महासचिव गुटरेससँग १२ कात्तिकमा भेट गरेपछि मात्रै परराष्ट्रमन्त्री अमेरिका जाने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ’, परराष्ट्रमन्त्रीको सचिवालयका एक सदस्यले भने ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस यसअघि २६ र २७ असोजमा नेपाल आउने कार्यक्रम थियो । तर इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि उक्त कार्यक्रम स्थगित भएको थियो ।परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार अहिलेसम्म भ्रमणको कार्यतालिका र एजेन्डालाई अन्तिम रूप दिन बाँकी छ । ‘एजेन्डा र कार्यतालिका तय भएपछि मात्रै भ्रमणको कार्यतालिका दुवै मुलुकले एकैपटक सार्वजनिक गर्ने तयारी छ’, उनको सचिवालयले भनेको छ ।

अमेरिकी सरकारको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री साउदले वासिङटन डीसीमा विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री साउदले अघिल्लो महिना मात्रै संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधि मण्डलसँगै न्यूयोर्क गएका थिए ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी १२ कात्तिकमा नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा राष्ट्रसंघ महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणमा आउने तय भएको हो ।

यसअघि महासचिव गुटेरेसको नेपाल आउने पूर्वनिर्धारित कार्यतालिका विश्व राजनीतिमा देखिएको बदलावलाई कारण बनाउँदै स्थगित भएको थियो ।

इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो ।

स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्लले अनलाइनखबरलाई जानकारी दिए ।

‘यूएन महासभाका क्रममा प्रधानमन्त्रीले दिनुभएको निम्तोलाई माने महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउनु हुने भएको छ’, मल्लले भने, ‘उहाँको भ्रमण पूर्वनिर्धारित भएकाले यसअघि तय भएको एजेन्डामा छलफल हुनेछ । त्यसपछि उहाँ १५ कात्तिकमा फर्किने कार्यक्रम रहेको छ ।’

राष्ट्रसंघका महासचिव गुटेरेसले भ्रमणका क्रममा यूएन महासभामा प्रधानमन्त्री प्रचण्डले राखेका विषयमा छलफल हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र अल्पविकसित मुलुकहरूको संगठन (एलडीसी) र यसको स्तरोन्नतिका लागि अन्य मुलुकको भूमिकाका विषयमा अध्यक्ष मुलुकको हैसियतमा विषय राखेका थिए ।

नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले यीनै विषयमा सरोकारवाला पक्षहरूसँग संवाद गर्नेछन् ।

शान्ति प्रक्रियाका विषयमा सरकारमा रहेका सम्बन्धित सबै राजनीतिक दलका प्रतिनिधिसँग संवाद गर्ने सम्भावना रहेको छ । यद्यपि, त्यसको कार्यातालिका अझै तय भइसकेको छैन ।

त्यसबाहेक जलवायु परिवर्तनका कारण देखिएका असरका विषयमा छलफल हुनेछ भने महासचिव गुटेरेसलाई सगरमाथा क्षेत्रको हवाइ अवलोकन गराइने भएको छ ।

यस्तै भ्रमणका क्रममा एलडीसीमा स्तारोनतिका लागि सदस्य राष्ट्र रहेका ४७ वटा मुलुक तथा अध्यक्ष राष्ट्र रहेको नेपालका विषयमा समेत छलफल हुनेछ ।

भ्रमणका क्रममा गुटेरेसले १३ कात्तिकमा नेपालको संघीय संसदलाई समेत सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर