रंग दे बसंती, आजा नच ले जस्ता फिल्ममा देखिएका अभिनेता कुणाल कपूर नितिश तिवारी निर्देशित पौराणिक फिल्म रामायणको हिस्सा बनेका छन् । फिल्ममा उनले कुन पात्रको भूमिका निभाउँदै छन् भन्नेबारे कुनै जानकारी बाहिर आएको छैन । तर खबरहरूलाई पत्याउने हो भने अभिनेताले फिल्मको लागि तयारी सुरु गरिसकेका छन् ।
पिंकभिल्लाको हालै छापेको समाचार अनुसार कुणाल कपूरले फिल्मको करारमा हस्ताक्षर गरिसकेका छन् । यस फिल्ममा रणवीर कपूरले भगवान रामको भूमिका निभाइरहेका छन् । साउथकी अभिनेत्री साई पल्लवीले माता सीताको भूमिका निभाएकी छिन् । कणालले आफ्नो पात्रका लागि कस्ट्युम ट्रायल पनि गरिसकेको र अहिले स्क्रिप्टको रिहर्सल गरिरहेको बताइएको छ ।
कुणाल कपूर यस अघि अन्तिम पटक २०२१ को फिल्म अनकही कहानियाँ देखिएका थिए । यो फिल्म नेटफ्लिक्समा रिलिज भएको थियो । सोही वर्ष उनी कोई जाने नामा पनि देखिएका थिए । सन् २०२१ यता कुणालको कुनै पनि बलिउड फिल्म रिलिज भएको छैन । कुनालको तेलुगु फिल्म विश्वंभरा सन् २०२५ मा रिलिज हुने तय भएको छ । यसबाहेक उनको हातमा ज्वेल थीफ पनि छ ।










