नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल्ड फिल्ममा अनुबन्धित भएका हुन् ।
निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबिच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् ।
आगामी भदौ महिनाबाट छायाङ्कनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ । निर्देशक दिवाकरले फिल्मको कथावस्तु मन पराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कम ब्याक गराउने दाबी गरे।










