जितु नेपाल र नीति शाहको शीर्ष अभिनय रहेको फिल्म ‘ज्वाइँ साब’  फिल्मको प्रदर्शन मिति तय गरिएको छ।

फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्देशक बसन्त निरौलाले  फिल्मलाई असोजको २४ गते फूलपातिमा रिलिज गर्ने तय भएको बताए।

सार्वजनिक पोस्टरमा जितु र नीतिको विवाह भएको देखाइएको छ। उनीहरू दुलाह–दुलहीको पहिरनमा छन्।

हाल फिल्मको धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ। दसैंको लामो बिदाको फाइदा उठाउने योजनाका साथ निर्माणपक्षले प्रदर्शन मिति तय गरेको देखिन्छ।

सबैसँग सल्लाह गरेरै फूलपातिमा फिल्म रिलिज गर्न लागिएको प्रस्तुतकर्ता राजकुमार पण्डितले बताए।

फिल्ममा जितु र नीतिका साथमा बुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, इशान राउत (जिरे), शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय छ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ। फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।

कमेडी जनरामा रहेर निर्माण गरिएको फिल्मले सामाजिक कथा भन्ने जनाइएको छ। फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर