जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा चितवनको कल्याणपुरमा सबैभन्दा धेरै १५३ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी नारायणी फिल्ड अफिसमा १२३, शक्तिखोरमा १०७ र देवघाटमा ९३ मिलिमिटर वर्षा मापन भएको छ ।
भारी वर्षाका कारण माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गर्दै नारायणगढ-मुग्लिङ सडकखण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
वर्षा गराउने बादल अहिले कर्णाली र सुदूरपश्चिमसम्म फैलिएको छ । एक घण्टा अगाडिको अवस्था हेर्दा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । ‘अहिले वागमती, गण्डकी र लुम्बिनी जोडिएका भूभागतिर धेरै वर्षा भइरहेको देखिन्छ,’ मौसमविद मानन्धरले भनिन्, ‘अहिलेको अवस्थाको कुरा गर्दा कर्णाली र सुदूरपश्चिममा पनि वर्षा सुरु भइसकेको छ ।’
उनका अनुसार आज दिनभरी नै पानी पर्ने, एकछिन रोकिने र फेरि पानी पर्ने अवस्था हुनेछ । आज दिउँसो र रातिमा पनि वर्षाको सम्भावना छ । भोलि (सोमबार) भने आजको तुलनामा कम वर्षा हुने पूर्वानुमान छ ।