आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंको गोकर्णेश्वर मन्दिर परिसरमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।
बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् ।
तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र बागमती नदी किनारमा श्राद्ध गर्ने गर्दछन् । श्राद्ध गर्नेहरुको आज बिहानैदेखि उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लागेको छ ।
पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरु गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा पनि भेला भएका छन् ।
वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।