नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउन थालिएको छ । हाल बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउको बीच भागमा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने पुल स्तरोन्नति भइरहेको छ ।

आगामी शिवरात्रीमा दर्शनार्थीले पूजा गर्न पाउने गरी काम भइरहेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट बताउँछन् । ‘नेपालकै ऐतिहासिक मन्दिरको रूपमा रहेको जुङ्गे महादेव मन्दिरलाई धार्मिक पर्यटक आकर्षित गर्ने गरी स्तरोन्नति तथा पुनःनिर्माण भइरहेको छ । जुङ्गे महादेव मन्दिर पुनःनिर्माणसँगै बागेश्वरी मन्दिर परिसर पनि थप आकर्षक बन्ने छ’, उनले भने ।

मन्दिर र पुल निर्माणका लागि २०७९ चैत २ मा १ करोड आठ लाख ७३ हजार आठ सय ९९ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले २०८० चैत २ भित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा काम पनि भएको छैन । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि आगामी पुस १ सम्म म्याद थपिएको छ ।

उपमहानगरपालिकाका इञ्जिनियर भूपेन्द्र बोहराले पुलको ढलान र पूर्वतर्फको घाट निर्माण कार्य सम्पन्न भएको र तलाउको बीचमा रहेको मन्दिरको पिलर तथा छत ढलान, फ्लोरिङ, रङ्गरोगन र अन्य काम बाँकी रहेका बताए ।

जीर्ण अवस्थामा रहेको मन्दिर स्तरोन्नति गरिने भएपछि त्यहाँ राखिएको ऐतिहासिक जुङ्गे महादेवको मूर्तिलाई बागेश्वरी मन्दिर परिसरकै कुनामा थन्क्याइएको छ । समयमा काम सम्पन्न नहुँदा भक्तजनलाई समस्या भइरहेको नेपालगञ्जका अगुवा ऋषिराज देवकोटाको गुनासो छ ।

नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले पुनःनिर्माणको काममा ढिलाइ हुँदा बागेश्वरी मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटकलाई असुविधा भएकाले अब समय सीमाभित्रै निर्माण सम्पन्न गराउन सम्वद्ध निकायले ध्यान दिनुपर्ने बताए ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर