वीरगन्ज महानगरपालिकाको अलौं स्थानीयको प्रदर्शनले तनावग्रस्त बनेको छ । हिजो ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएपछि आज बिहानदेखि अलौं तनावग्रस्त भएको हो ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका वीरगन्ज–१७ अलौंका २२ वर्षीय टिनुकुमार साह तुराहाको मृत्यु भएको छ । उनको हिजो अबेर राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याङ्कर चालकको लापरबाहीले मोटरसाइकल चालकको मृत्यु भएको भन्दै बिहानैदेखि एकीकृत भन्सार जाँच चौकी (आइसीपी) एरियामा स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रहरीकाअनुसार स्थानीयले बिहान ६ बजेदेखि ठाउँ ठाउँमा टायर बालेर प्रदर्शनमा उत्रेका छन् ।
दोषीलाई ट्याङ्कर चालकलाई कारबाहीको माग गर्दै अलौंका स्थानीय प्रदर्शनमा उत्रेका प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार घाइतेको मृत्यु भएपछि आक्रोशित स्थानीयका कारण अलौंस्थित एकीकृत जाँचपोष्ट क्षेत्र तनावग्रस्त भएको छ ।
मृतक तुराहाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको प्रहरी प्रवक्ता दीपक भारतीले बताए । उनकाअनुसार मृतक पक्षका आफन्त र सरोकारवालाबिच अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहेको छ ।
‘त्यस छलफलमा जे निचोड आउँछ, त्यहीअनुसार सबै जना अगाडि बढ्नेछौँ,’ उनले भने । हिजो ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ मोटरसाइकललाई ठक्कर दिएको थियो । जसमा मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका थिए । ट्याङ्कर र त्यसका चालकलाई भने प्रहरीले हिजैदेखि आफ्नो नियन्त्रणमा राखेको छ ।










