सरकारले असोज ३ गतेदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर अस्थायी रूपमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो। यसअघि धरहरा सञ्चालनकाे जिम्मा काठमाडौं महानगरपालिकालाई थियो। काठमाडौं महानगरले साइडवार्कस नामको निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिएको थियो।
मन्त्रिपरिषद्को बैठकले धरहरा सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए। त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो।
२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७५ साल असोज १४ गते धरहरा क्षेत्रका संरचना निर्माणको लागि ठेक्का लगाएको थियो।
जिआइटिसी रमन जेभीले करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा ठेक्का २०७५ असोज १४ गते पाएको थियो।
अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए। ९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा नौ तलामा सीमित भएको थियो। त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो। अहिले बाहिरबाट देखिँदा ११ तले छ। भित्र भने २२ तला छ। जमिनमुनि तीनवटा तला बनाइएको छ।