कैलालीको जिल्ला कारागारभित्रै मंगलबार एक थुनुवाको मृत्यु भएको छ।
कारागारभित्रै थुनुवाकाे मृत्यु भएपछि प्रशासनले लापरवाही गरेकाे भन्दै उनका आफन्त आक्राेशित भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा कैलालीकै घोडाघोडी नगरपालिका- ४ का २२ वर्षका दीपक विक रहेका छन्।
साेमबार दिउँसो शौचालयमा लडेको अवस्थामा भेटिएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारमा रहेका उनको बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए। उनकाे मृत्यु के कसरी भयाे? भन्नेबारे अनुसन्धान भइरहेको बाेहराले बताए।
यता, कारागारको लापरवाहीका कारण आफ्नो भाइले ज्यान गुमाएको दीपकका दाइ नेत्रकाे आराेप छ।
केही समय पहिले बहिनी नातापर्ने नाबालिगलाई दीपकले विवाह गरेर भारतको बेंग्लोर लगेका थिए। दीपककै आफन्तले उनीहरू दुवैलाई घर बोलाएपछि २०८० माघ ७ दीपकविरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए।
दाइ-बहिनी नाता पर्नेबीच हाड नाता करणीमा मुद्दा दायर भएपछि उनी कारागार चलान भएका थिए।










